बाँके । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले आगामी नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै कर्णाली प्रदेशका विभिन्न जिल्लामा पाठ्यपुस्तक बिक्री तथा वितरण कार्य सम्पन्न गरेको छ।
नयाँ शैक्षिकसत्र २०८३ का लागि चैत २४ गतेसम्म नेपालगञ्ज कार्यालयबाट कुल ४ लाख ६२ हजार २४६ थान पाठ्यपुस्तक बिक्री तथा वितरण गरिएको प्रादेशिक प्रेस नेपालगञ्जका प्रमुख रुद्र खनालले जानकारी दिएका छन्। उनका अनुसार समयमै पाठ्यपुस्तक उपलब्ध गराउने लक्ष्यअनुसार वितरण प्रक्रिया तीव्र रूपमा अघि बढाइएको हो।
नेपालगञ्ज कार्यालयमार्फत कर्णाली प्रदेशका दुर्गम तथा पहाडी जिल्ला हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा पाठ्यपुस्तक पठाइएको छ। त्यस्तै लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी थप पाँच जिल्लामा समेत पुस्तक वितरण गरिएको छ।
यसरी हेर्दा नेपालगञ्ज प्रादेशिक कार्यालयले कुल १० वटा जिल्लामा पाठ्यपुस्तक आपूर्ति गर्दै आएको छ। दुर्गम क्षेत्रसम्म समयमै पुस्तक पुर्याउनु मुख्य चुनौती भए पनि नियमित योजना र समन्वयका कारण यस वर्ष वितरण कार्य सहज बनेको कार्यालयले जनाएको छ।
शिक्षा क्षेत्रमा पाठ्यपुस्तक समयमै उपलब्ध हुनु विद्यार्थीको अध्ययन प्रक्रियामा सकारात्मक प्रभाव पार्ने र नयाँ शैक्षिकसत्रको सुरुवातमै पठनपाठनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
स्थानीय विद्यालय तथा शिक्षकहरूले पनि समयमै पुस्तक प्राप्त हुँदा पाठ्यक्रम कार्यान्वयन सहज हुने र विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार आउने विश्वास व्यक्त गरेका छन्।
प्राधिकरणका अनुसार दुर्गम जिल्लामा यातायात तथा मौसमका कारण ढुवानी चुनौतीपूर्ण भए पनि यस वर्ष पूर्वतयारीका कारण धेरै ठाउँमा पुस्तक समयमै पुगेको बताइएको छ। यसले आगामी वर्षहरूमा पनि वितरण प्रणाली अझ प्रभावकारी बनाउन आधार तयार गरेको जनाइएको छ।
