काठमाडौँ । प्रतिपक्षी दल ऐन महरले निजी क्षेत्रलाई राज्यको अर्थतन्त्रको मेरुदण्ड भन्दै सरकारले यसको भूमिकाबारे स्पष्ट दृष्टिकोण र दीर्घकालीन भिजन बनाउनुपर्नेमा जोड दिएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नीति निर्माणभन्दा पहिले राज्यको सोच र व्यवहार महत्वपूर्ण हुने बताए। उनका अनुसार सरकारले कहिले निजी क्षेत्रलाई सहयोगी रूपमा व्यवहार गर्ने र कहिले शंकाको दृष्टिले हेर्ने प्रवृत्ति अन्त्य हुन आवश्यक छ।
महरले व्यवसायीलाई ‘दलाल’ वा ‘कमिसनखोर’ भनेर हेर्ने मानसिकता गलत भएको उल्लेख गर्दै यस्तो दृष्टिकोणले लगानी र आर्थिक विकास दुवैलाई असर गर्ने बताए। उनले कर प्रणालीबारे पनि चर्चा गर्दै करको दर बढाउनु भन्दा करको दायरा विस्तार गर्नु उपयुक्त हुने निजी क्षेत्रको मागप्रति आफू सहमत रहेको स्पष्ट पारे।
उनका अनुसार देशको व्यापार घाटा कम गर्न आयातमुखी अर्थतन्त्रबाट निर्यातमुखी अर्थतन्त्रतर्फ अघि बढ्न जरुरी छ। विशेषगरी कृषि र पर्यटन क्षेत्रमा ठूला लगानीकर्तालाई आकर्षित गर्नुपर्ने उनको सुझाव छ।
आफ्नो गृह जिल्ला बझाङको उदाहरण दिँदै उनले त्यहाँ ओखर र टिम्मुर खेतीको ठूलो सम्भावना रहेको बताए। साथै खप्तड र मानसरोवर जाने ताक्लाकोट नाकाको विकास गरेर पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा पनि राखे।
महरले निजी क्षेत्रलाई बलियो बनाउँदै देशको अर्थतन्त्र सुदृढ बनाउन आफू र आफ्नो पार्टी निरन्तर प्रतिबद्ध रहने बताए।
