काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ। अघिल्लो दिन ठूलो वृद्धि भएको सुनको भाउ यसदिन भने उल्लेखनीय रूपमा घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४,३०० रुपैयाँले घट्दै २ लाख ९४ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो दिन तोलामा ७ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य एकै दिनमा घटेपछि बजारमा फेरि अस्थिरता देखिएको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८ सय ७५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य घटेको देखिएको छ। आज सुन प्रतिऔंस ४ हजार ७ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय बजार स्रोतहरूले जनाएका छन्।
विश्लेषकहरूका अनुसार पछिल्लो दिनहरूमा अन्तर्राष्ट्रिय माग र लगानीकर्ताको नाफा बुकिङका कारण सुनचाँदीको मूल्यमा उतारचढाव बढिरहेको छ।
