काठमाडौँ । केपी शर्मा ओली र रमेश लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। सर्वोच्च अदालतको परमादेशअनुसार प्रहरीले दुवै जनालाई रिहा गर्ने प्रक्रिया अघि बढाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार सरकारी वकिलको सहमतिमा “आवश्यक परेको बेला उपस्थित हुने शर्तमा” उनीहरूलाई हाजिर जमानीमा रिहा गरिएको हो।
भदौ २३ र २४ को घटनासम्बन्धी छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेपछि उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो। त्यसपछि काठमाडौँ जिल्ला अदालतबाट तेस्रो पटक म्याद थप गरी उनीहरूलाई हिरासतमा राखिएको थियो।
यसैबीच, बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले चैत २३ मा चौथो पटक म्याद नथप्न र अनुसन्धान नसकिएको अवस्थामा पनि हिरासत मुक्त गरेर थप अनुसन्धान अघि बढाउन आदेश दिएको थियो। सोही आदेशअनुसार उनीहरूलाई रिहा गरिएको हो।
प्रहरीका अनुसार अनुसन्धान प्रक्रिया जारी रहनेछ र आवश्यक परेमा उनीहरूलाई पुनः बोलाएर बयान लिइनेछ।
