कैलाली । टीकापुर नगरपालिकाले घरबाट निस्कने फोहरलाई वर्गीकरण गरेर राख्न नागरिकहरूलाई आग्रह गरेको छ। नगरपालिकाका अनुसार स्रोतमै फोहर छुट्याए व्यवस्थापन प्रक्रिया प्रभावकारी, सुरक्षित र व्यवस्थित बन्नेछ।
यस अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाले टोल, बस्ती तथा बजार क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाका अनुसार सबै प्रकारका फोहर एकै ठाउँमा मिसिँदा व्यवस्थापन कठिन हुनुका साथै सरसफाइकर्मीका लागि जोखिमसमेत बढ्ने गरेको छ। “त्यसैले घरमै फोहर छुट्याउने बानी विकास गराउन गाउँ–टोलमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो,” उनले बताए।
स्थानीयवासीहरूले पनि यस पहलप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। टीकापुर–२ विजयनगरकी सुनिता विकले अबदेखि घरमै फोहर वर्गीकरण गरेर राख्ने बताएकी छन्। त्यस्तै अर्की स्थानीय आरती थापाले नगरपालिकाले विभिन्न स्थानमा व्यवस्थित रूपमा फोहर सङ्कलनको व्यवस्था गर्नुपर्ने सुझाव दिएकी छन्।
नगरपालिकाले जैविक, अजैविक तथा पुनःप्रयोग गर्न सकिने फोहर छुट्याएर राख्ने प्रणाली लागू गर्न जोड दिँदै आएको छ। यसबाट वातावरण संरक्षण, सरसफाइ सुधार र दीगो फोहर व्यवस्थापनमा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ।
