पोखरा । पोखराको सभागृहचोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। साँझ करिब ७ बजे भएको उक्त घटनामा अज्ञात युवकले सडकपेटीमा उभिरहेकी महिलामाथि पछाडिबाट आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
प्रहरीका अनुसार हत्या हुनेमा पोखरा–५ मालेपाटन निवासी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री रहेकी छन्। सभागृहचोकदेखि शिवालयचोकतर्फ जाने सडकखण्डको दायाँपट्टि उभिरहेकी उनलाई अचानक आक्रमण गरिएको थियो। आक्रमणपछि उनी चिच्याउँदै सडकमै ढलेकी थिइन्।
गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि संलग्न युवक मोटरसाइकलमा फरार भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले अभियुक्तको खोजी कार्य तीव्र पारिएको जानकारी दिएका छन्।
प्रहरीले घटनाको प्रकृति, कारण र संलग्न व्यक्तिबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
