कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा तीन प्रमुख विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य विस्तार गर्ने उद्देश्यले त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। उक्त समझदारी त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन, अनुसन्धान र शैक्षिक सहकार्यलाई सुदृढ गर्ने लक्ष्यसहित गरिएको हो।
विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमका अनुसार विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको उपस्थितिमा आयोजित कार्यक्रममा तीनै विश्वविद्यालयका उपकुलपतिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. विनोद लेखकले यस समझदारीले विश्वविद्यालयबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनका अनुसार उच्च प्राज्ञिक जनशक्तिको अभावलाई डिजिटल माध्यममार्फत पूर्ति गर्दै दक्ष जनशक्ति व्यवस्थापनमा यो सहकार्य महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार तीन विश्वविद्यालयबीच शैक्षिक स्रोत, अनुसन्धान, प्रविधि तथा अनुभव आदान–प्रदानलाई संस्थागत गरिनेछ। विशेषगरी डिजिटल प्लेटफर्ममार्फत संयुक्त कक्षा सञ्चालन, अनुसन्धानमा सहकार्य, तथा प्राध्यापकहरूको साझा उपयोगजस्ता कार्यक्रम अघि बढाइने जनाइएको छ।
यस सहकार्यले उच्च शिक्षामा गुणस्तर अभिवृद्धि, स्रोतको प्रभावकारी उपयोग तथा प्रविधिमैत्री शिक्षण प्रणाली विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास विश्वविद्यालयहरूले व्यक्त गरेका छन्।
