मुगु । इण्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ) मुगुले जिल्लामा शिक्षा, स्वास्थ्य, आयआर्जन, रोजगारी, विपद् व्यवस्थापन तथा खानेपानीलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। यही अभियानअन्तर्गत संस्थाले आत्मनिर्भर बन्न चाहने पाँच जना बेरोजगार महिलालाई लक्षित गर्दै तीन महिने निःशुल्क सिलाई कटाई तालिम सञ्चालन गरेको छ।
तालिममार्फत सहभागी महिलाहरूलाई सिलाई कटाई सम्बन्धी व्यावहारिक सीप प्रदान गर्नुका साथै सिलाई मेसिन, कपडा र आवश्यक उपकरणसमेत उपलब्ध गराइएको संस्थाले जनाएको छ। यसले उनीहरूलाई सीपसँगै तत्काल काम सुरु गर्ने आधारसमेत तयार गरिदिएको छ।
छायाँनाथ रारा नगरपालिका–१४ बाम गाउँकी माया बडुवालले तालिमले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको बताइन्। “पहिले सिलाई कटाईलाई जातीय आधारमा हेर्ने चलन थियो, तर अहिले यसको महत्व बढेको छ,” उनले भनिन्, “सुरुमा सामान्य कपडा काट्न पनि आउँदैनथ्यो, अहिले विभिन्न प्रकारका लुगा सिलाउन सक्ने भएकी छु।” उनले चोला, भोटा, कुर्ता–सुरुवाल, म्याक्सी, पेटिकोटलगायतका पोशाक बनाउन सिकेको बताउँदै अब यही सीपलाई व्यवसायमा रूपान्तरण गर्ने लक्ष्य रहेको सुनाइन्।
त्यस्तै अर्की सहभागी रसमदेवी लावडले आर्थिक अभावका कारण पहिले सीप सिक्ने अवसर नपाएको उल्लेख गर्दै आईएनएफको सहयोगले जीवनमा नयाँ बाटो खुलेको बताइन्। “तीन महिनामा कपडा काट्न र सिलाउन सिक्यौं, अब यही सीप प्रयोग गरेर आम्दानी गर्नेछु,” उनले भनिन्।
तालिमका प्रशिक्षक रामबहादुर परिवारका अनुसार सुरुमा सहभागीहरूलाई आधारभूत कामसमेत कठिन थियो, तर उनीहरूको मेहनत र लगनशीलताले छोटो समयमै उल्लेखनीय प्रगति सम्भव भएको हो। “अब बजारको मागअनुसार नयाँ डिजाइन र आधुनिक शैली सिक्दै अगाडि बढ्न आवश्यक छ,” उनले सुझाव दिए।
कार्यक्रममा जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जनबहादुर कार्कीले महिलाहरूले सिकेको सीपलाई व्यवहारमा उतारेर आयआर्जनमा जोडिन आग्रह गरे। यस्तै छायाँनाथ रारा नगरपालिकाकी उपप्रमुख ऐश्वर्य मल्लले आर्थिक अभावका कारण महिलाहरू सीपमूलक तालिमबाट वञ्चित हुने अवस्था रहेको बताउँदै यस्ता कार्यक्रमले आत्मनिर्भरता बढाउने धारणा राखिन्। उनले आगामी दिनमा स्थानीय सरकारले थप सीपमूलक तालिम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।
आईएनएफ मुगुका प्रमुख जुवारीलाल कार्कीका अनुसार उक्त तालिम सञ्चालनमा मेसिन, कपडा र अन्य सामग्रीसहित प्रति व्यक्ति करिब एक लाख रुपैयाँका दरले कुल पाँच लाख रुपैयाँ खर्च गरिएको छ। “हामी नगद सहयोगभन्दा पनि सीपमार्फत दीगो आत्मनिर्भरता विकास गर्न केन्द्रित छौं,” उनले भने।
संस्थाले हरेक वर्ष सिलाई कटाई, मिस्त्री, प्लम्बर, ड्राइभर, मोबाइल मर्मतजस्ता विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको जनाएको छ। सहभागीहरूले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरी आत्मनिर्भर बनेको देख्न पाए मात्र यस्ता कार्यक्रम सफल हुने अपेक्षा संस्थाको रहेको छ।
