नवलपरासी । वर्षाका कारण बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। पूर्वपश्चिम राजमार्गको महत्त्वपूर्ण भाग मानिने यस सडकखण्डमा हिलो र चिप्लोपन बढेपछि सवारी आवतजावत ठप्प भएको हो।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२स्थित दाउन्ने क्षेत्रमा पर्ने घिउखोला र विश्वकर्मा मन्दिर नजिकै सडक हिलो भएर सवारी साधन फस्दा लामो जाम लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन्। बुधबार दिउँसोदेखि परेको निरन्तर वर्षाका कारण उकालो सडकमा सवारी चिप्लिएर गुड्नै कठिन भएको छ।
प्रहरीका अनुसार विशेषगरी मालवाहक सवारी साधनहरू सडकमै अड्किँदा समस्या झन् जटिल बनेको छ। अहिले ती सवारी साधनलाई अरुणखोला क्षेत्रमै रोकेर व्यवस्थापन गर्ने प्रयास भइरहेको छ।
उता, नारायणगढ–बुटवल सडक आयोजनाले सडक मर्मतका लागि दाउन्ने खण्डमा ‘ग्राभेल’ हाल्ने काम भइरहेको जनाएको छ। तर, सडक विस्तारको काम अझै पूरा नभएकाले सामान्य वर्षामै पनि यस्तो समस्या दोहोरिने गरेको स्थानीयको गुनासो छ।
यस खण्डमा भइरहेको निर्माण कार्य ढिलाइ हुँदा वर्षायाममा यात्रुहरूले बारम्बार सास्ती भोग्नुपरेको छ। सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायले छिटो काम सम्पन्न गर्नुपर्ने माग समेत उठ्न थालेको छ।
