काठमाडौँ उपत्यकामा शान्ति सुरक्षामाथि प्रश्न उठ्ने गरी ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दुई जना दाजुभाइको हत्या भएको छ। घटनाले स्थानीय बासिन्दा र सर्वसाधारणलाई स्तब्ध बनाएको छ।
मृत्यु हुनेहरूमा ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङ रहेका छन्। ललितपुर प्रहरी प्रमुख होविन्द्र बोगटी का अनुसार चक्कु प्रहारबाट गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि B&B Hospital लगिएको थियो, तर उपचारकै क्रममा उनीहरूको ज्यान गएको हो।
प्रहरी अनुसन्धानअनुसार घटनाको सुरुवात एउटा ‘रङ नम्बर’ बाट भएको खुलेको छ। बुधबार साँझ इमाडोल बस्ने नेम्बाङ दाजुभाइले गरेको फोन झुक्किएर अपरिचित व्यक्ति सञ्जीव नेपालीको मोबाइलमा पुगेपछि सामान्य कुराकानी विवादमा परिणत भएको थियो। फोनमै भनाभन बढ्दै गएपछि सञ्जीवले उनीहरूलाई पाटन आउन चुनौती दिएका थिए।
सोही विवादका कारण पाटन पुगेका नेम्बाङ दाजुभाइमाथि सञ्जीव नेपालीले आफू काम गर्ने मासु पसलमा प्रयोग हुने धारिलो चक्कु प्रहार गरेका थिए। आक्रमण अत्यन्त क्रूर रहेको र घटनास्थलमै उनीहरू गम्भीर घाइते भएका प्रहरीको भनाइ छ।
घटनापछि फरार हुन खोजिरहेका मुख्य अभियुक्त सञ्जीव नेपालीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ भने यस्ता सामान्य विवादले ज्यानै जाने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय बनेको छ।
