इजरायलले लेबनानका विभिन्न स्थानहरूमा लगातार हवाई आक्रमण जारी राखेपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ। समाचार एजेन्सी एपीका अनुसार अमेरिका–इरानबीच युद्धविराम सहमति भएको केही समयमै इजरायलले लेबनानमा हमला तीव्र बनाएपछि प्रतिक्रिया स्वरूप इरानले महत्वपूर्ण हर्मुज जलमार्ग पुनः बन्द गरेको हो। यो कदमले अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा गम्भीर असर पार्ने आशंका गरिएको छ।
इजरायली सेनाले गएराति राजधानी बेरुतसहित बालबेक, हर्मेल, नाबाटिएह, एले जिल्ला, सिदोन र टायर क्षेत्रमा भीषण आक्रमण गरेको बताइएको छ। ती क्षेत्रमा विस्फोटका आवाजहरू रातभर सुनिएका थिए भने सर्वसाधारणमा त्रास फैलिएको छ। स्थानीय स्रोतहरूका अनुसार पूर्वाधार र आवासीय क्षेत्रमा समेत क्षति पुगेको छ।
यसैबीच, लेबनानमा सक्रिय सशस्त्र समूह हिज्बुल्लाहले आफूहरूलाई युद्धविराम प्रक्रियामा समावेश नगरिए हालको सहमति मान्य नहुने चेतावनी दिएको छ। हिज्बुल्लाहको उक्त अडानले क्षेत्रीय द्वन्द्व थप जटिल बन्न सक्ने संकेत दिएको विश्लेषकहरू बताउँछन्।
इरानको शक्तिशाली सैन्य निकाय ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी)ले पनि कडा चेतावनी जारी गर्दै लेबनानमा भइरहेको इजरायली आक्रमण तुरुन्त नरोकिए कडा प्रतिकार गरिने जनाएको छ। इरानले यसअघि अमेरिकालाई १० बुँदे युद्धविराम प्रस्ताव पठाउँदै हिज्बुल्लाहमाथिको आक्रमण रोक्न आग्रह गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँग भएको युद्धविराम योजनामा हिज्बुल्लाह समावेश नभएको स्पष्ट पारेका छन्। उनका अनुसार करिब ४० दिन लामो तनावपछि अमेरिका र इरान दुई हप्ते युद्धविराममा सहमत भएका हुन्। ट्रम्पले यो निर्णय पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र त्यहाँका सेना प्रमुखको अपीलपछि लिइएको पनि बताएका छन्।
