जुम्लाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाअन्तर्गत मेयर खोलानजिक दुर्घटनामा परेको छ। बुधबार राति करिब ८ बजेतिर भएको उक्त दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार दुर्घटनामा एम्बुलेन्स चालक हिमा गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र हिमा गाउँपालिका–६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको ज्यान गएको हो।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा हिमा गाउँपालिकाकै लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ। दुर्गम क्षेत्रमा सडक अवस्था कमजोर हुँदा यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेको स्थानीयले बताएका छन्।
