काठमाडौँ । अब प्रहरीमा दर्ता भएका उजुरी तथा गुनासोको कारबाही प्रक्रियाबारे सेवाग्राहीले एसएमएसमार्फत जानकारी पाउने भएका छन्।
प्रहरी प्रधान कार्यालय ले जारी गरेको सूचनाअनुसार प्रहरीका मुद्दा दर्ता हुने इकाईहरूमा दर्ता भएका उजुरी, निवेदन, गुनासो तथा जाहेरी दरखास्तको प्रगतिबारे सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष जानकारी दिने व्यवस्था लागू गरिएको हो।
प्रहरीका अनुसार अब सेवाग्राहीले आफ्नो उजुरीको अवस्था बुझ्न बारम्बार कार्यालय धाउनुपर्ने अवस्था कम हुनेछ। उजुरीमाथि भइरहेको कारबाही, त्यसको प्रगति र कार्यान्वयनको अवस्थाबारे सेवाग्राहीले आफूले उपलब्ध गराएको मोबाइल नम्बरमा फोन वा एसएमएसमार्फत जानकारी प्राप्त गर्नेछन्।
यस नयाँ व्यवस्थाले प्रहरी सेवामा पारदर्शिता, जवाफदेहिता र सेवाग्राहीमैत्री प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, नागरिकको गुनासो व्यवस्थापन प्रक्रियालाई प्रभावकारी बनाउँदै विश्वास बढाउने लक्ष्य पनि राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज र छरितो बनाउने अभियान अन्तर्गत यो व्यवस्था लागू गरेको स्पष्ट पारेको छ। यसले उजुरी व्यवस्थापन प्रणालीलाई आधुनिक बनाउनुका साथै नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
