काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा विरुद्ध इन्टरपोलबाट नोटिस जारी गर्ने प्रक्रिया थालिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अदालतबाट पक्राउ पुर्जी लिएर देउवा दम्पतीविरुद्ध प्रहरी प्रधान कार्यालयमार्फत अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) बाट नोटिस जारी गर्न तयारी सुरु गरेको हो।
प्रहरी प्रधान कार्यालय अन्तर्गत रहेको नेसनल सेन्ट्रल ब्यूरो को आग्रहमा इन्टरपोलले नोटिस जारी गर्ने कानुनी व्यवस्था छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री देउवा र डा. राणाको विरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धान गर्दै आएको छ। विभागका महानिर्देशक गजेन्द्र ठाकुर ले रातोपाटीसँग भने, “यो सबै विषय अनुसन्धानकै प्रक्रियामा छ।”
अध्यागमन विभागको विवरणअनुसार आरजु देउवा २०८२ फागुन १० मा भारत गएकी थिइन् भने शेरबहादुर देउवा २०८२ फागुन १३ मा सिंगापुर पुगेका थिए। हाल उनीहरू हङकङमा रहेका छन्।
यदि विदेशमा रहेको पुष्टि हुन्छ भने, नेसनल सेन्ट्रल ब्यूरो इन्टरपोल महासचिवालयलाई पत्राचार गरी नोटिस जारी गराउन सक्ने कानुनी व्यवस्था छ। इन्टरपोलबाट विभिन्न प्रकारका नोटिस जारी हुन्छन् – रेड, ब्लू, ग्रिन, यलो, ब्ल्याक, ओरेंज र पर्पल।
विशेषगरी रेड नोटिस दुई वर्षभन्दा बढी कैद सजाय हुने अपराधमा संलग्न आरोपीका लागि जारी गरिन्छ। देउवा दम्पतीको हकमा कुन प्रकारको नोटिस जारी गरिने भन्ने निर्णय हाल अन्तिम चरणमा पुगेको छैन।
