काठमाडौँ । नेकपा एमाले की सांसद टुकाभद्रा हमाल ले प्रधानमन्त्री बालेन्द्र शाह ले प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरेको आरोप लगाएकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सांसदहरूबीच समान व्यवहार हुनुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित माननीय सदस्यहरूमा किन विभेद गरिन्छ ?”
प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूसँग भेटघाट गरिरहेको सन्दर्भमा प्रत्यक्ष निर्वाचित सांसदहरूलाई मात्रै सहभागी गराइएको भन्दै हमालले आपत्ति जनाइन्।
उनले भनिन्, “प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित माननीयहरूलाई विकास निर्माणका विषयमा कुरा राख्ने अवसर दिइएको सुन्नमा आएको छ। तर, समानुपातिकबाट निर्वाचित सदस्यहरू किन उक्त अवसरबाट वञ्चित गरिएका हुन् ?”
हमालले दुवै प्रणालीबाट आएका सांसदहरू राष्ट्रको समान प्रतिनिधि भएकाले उनीहरूबीच कुनै पनि प्रकारको विभेद हुन नहुने धारणा राखिन्।
