काठमाडौँ । प्रतिनिधिसभाकी सांसद नीतिमा भण्डारी कार्की ले प्रतिफल र दिगोपन सुनिश्चित नगरी निर्माण गरिएका भ्युटावर तथा भवनहरूको उचित सदुपयोग गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले देशभर निर्माण भई हाल प्रयोगमा नआएका यस्ता संरचनाहरूको पहिचान गरी तत्काल उपयोगमा ल्याउनुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “धेरै स्थानमा प्रतिफल र दिगोपनको अध्ययनबिनै भ्युटावर र भवन निर्माण गरिएका छन्, जसका कारण ती संरचना प्रयोगविहीन बनेका छन्। यस्ता भवनहरूको उचित पहिचान गरी तत्काल सदुपयोग गर्नुपर्छ।”
सांसद कार्कीले अब बन्ने नयाँ पूर्वाधार आयोजनाहरूमा भने विस्तृत अध्ययन अनिवार्य गर्नुपर्ने धारणा राखिन्। कुनै पनि भौतिक संरचना निर्माण अघि त्यसले दिने प्रतिफल, दिगोपन तथा जनताको वास्तविक आवश्यकताबारे गहिरो विश्लेषण गरेर मात्र काम अघि बढाउन सरकारलाई सुझाव दिइन्।
