काठमाडौं : अशोकराज सिग्देल ले राष्ट्रिय एकता सुदृढ बनाउन नेपाली सेना सधैँ प्रतिबद्ध र अग्रसर रहेको बताएका छन्।
तनहुँमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणमा ऐतिहासिक रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनले विगतदेखि वर्तमानसम्म सेनाले राष्ट्रिय सुरक्षामा पुर्याएको योगदान अतुलनीय रहेको बताए।
प्रधानसेनापति सिग्देलले बदलिँदो समयका चुनौती सामना गर्न नेपाली सेनालाई अझ सुदृढ, सक्षम र आधुनिक संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। उनले परम्परागत मूल्यमान्यतालाई कायम राख्दै प्रविधिमैत्री र व्यावसायिक क्षमतासहितको संगठन निर्माणमा जोड दिए।
उनका अनुसार नेपाली सेनाले केवल देशको सुरक्षा मात्र नभई आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना अभियानमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। यिनै गतिविधिका कारण नेपाली सेना स्वदेश र अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय तथा सम्मानित संस्थाका रूपमा स्थापित भएको उनले बताए।
यसै क्रममा उनले नेपाली सेनाको कल्याणकारी बोर्डले पूर्व सैनिक तथा आश्रित परिवारलाई एउटै प्रणालीमा समेट्न सञ्जाल विस्तार गरिरहेको जानकारी दिए। तर पछिल्लो समय आर्थिक क्षेत्रमा देखिएको सङ्कुचन, बैंकिङ क्षेत्रका चुनौती, मुद्दती निक्षेपको ब्याजदरमा आएको गिरावट तथा शान्ति स्थापनामा खटिने फौजको सङ्ख्या घट्दा कल्याणकारी कार्यक्रम सञ्चालनमा चुनौती थपिएको उनले बताए।
प्रधानसेनापति सिग्देलले यी चुनौतीबीच पनि पूर्व सैनिकहरूको हित र कल्याणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन रूपमा दिगो योजना निर्माणमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
