काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सन् २०२६ मा नेपाल कम विकसित मुलुक (एलडीसी) बाट स्तरोन्नति भएपछि सिर्जना हुने चुनौती सामना गर्न सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् ।
‘एलडीसी ग्राजुएसनपछि तयारी पोशाकको निर्यात प्रवर्द्धनः चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद पराजुलीले नेपालको निर्यात व्यापारलाई दीर्घकालीन रूपमा टिकाइराख्न द्विपक्षीय वार्ता तथा स्वतन्त्र व्यापार सम्झौता (एफटीए) मा जोड दिनुपर्ने धारणा राखे ।
उनले संसदीय समितिहरू गठन भएपछि निजी क्षेत्रका समस्या पहिलो प्राथमिकतामा राखेर छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार नेपाली उत्पादनको ब्रान्डिङ र मार्केटिङका लागि छरिएर गरिने प्रयासभन्दा एकीकृत राष्ट्रिय प्रयास बढी प्रभावकारी हुनेछ ।
पराजुलीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल उद्योग परिसंघ (सीएनआई) तथा हस्तकला महासंघलगायत संस्थाहरूलाई अन्तर्राष्ट्रिय बजारमा संयुक्त रूपमा प्रदर्शनी आयोजना गर्न आग्रह गरे । उनले छिमेकी भारतले वर्षमा दुई पटक ठूला अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गरी निर्यात वृद्धि गरेको उदाहरण दिँदै नेपालले पनि त्यस्तै रणनीति अपनाउनुपर्ने बताए ।
उनले संसदीय समिति गठन भएलगत्तै पहिलो बैठकमै निजी क्षेत्रका मुद्दालाई प्राथमिकतामा राखिने उल्लेख गर्दै एलडीसी स्तरोन्नतिसँग सम्बन्धित स्पष्ट कार्ययोजना निजी क्षेत्रबाट आए सरकारसँग समन्वय गरेर ठोस निर्णयमा पुग्न सकिने बताए ।
सांसद पराजुलीले हालै पेट्रोलियम पदार्थ आयातमा पूर्वाधार कर र भन्सार दरमा ५० प्रतिशत छुट दिने सरकारको निर्णयले जनतालाई राहत पुग्ने विश्वास व्यक्त गरे । साथै, ड्राइभिङ लाइसेन्स वर्षौँ कुर्नुपर्ने अवस्थाबाट हटाई २४ घण्टाभित्र प्रिन्ट गर्ने व्यवस्था सुधारको सकारात्मक उदाहरण भएको बताए ।
उनले सदनमा टेबल भएको ‘नेपाल पर्यटन विधेयक’ मा आवश्यक संशोधनका लागि निजी क्षेत्रलाई सुझाव दिन आग्रह गर्दै आगामी केही हप्ताभित्र संसदीय समितिहरू पूर्ण हुने र त्यसपछि आर्थिक तथा व्यापारिक मुद्दाले गति लिने विश्वास व्यक्त गरे ।
