काठमाडौँ । परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको छ । बुधबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा मन्त्रीहरू, परराष्ट्र सेवाका कर्मचारीलगायत उच्च पदाधिकारीहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा कूटनीतिक आचारसंहिताको महत्त्व, यसको प्रभावकारी कार्यान्वयन तथा समसामयिक परराष्ट्र मामिलासम्बन्धी विविध विषयमा गहिरो छलफल भइरहेको स्रोतले जनाएको छ । मन्त्रालयका अनुसार बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति, कूटनीतिक अभ्यासमा पारदर्शिता, र राज्यको बाह्य सम्बन्धलाई अझ प्रभावकारी बनाउने विषयमा पनि ध्यान केन्द्रित गरिएको छ ।
परराष्ट्र मन्त्रालयले कूटनीतिक मर्यादा र आचारसंहिताको पालनालाई अझ सुदृढ बनाउँदै नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत पार्ने उद्देश्यसहित यो छलफल आयोजना गरिएको जनाएको छ । सहभागीहरूले परराष्ट्र सेवामा कार्यरत कर्मचारीहरूको जिम्मेवारी, व्यवहारिक चुनौती र नीति कार्यान्वयनका पक्षमा आ–आफ्ना धारणा राखिरहेका छन् ।
यसैबीच, आजै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विभिन्न देशका नेपालस्थित राजदूतहरूसँग छुट्टै छलफल गर्ने कार्यक्रम रहेको छ । उक्त भेटवार्तामा द्विपक्षीय सम्बन्ध, लगानी, विकास सहकार्य तथा कूटनीतिक समन्वयका विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ ।
सरकारी स्रोतका अनुसार यो श्रृंखलाबद्ध कूटनीतिक गतिविधिले नेपाल–विदेश सम्बन्धलाई थप सुदृढ बनाउने र अन्तर्राष्ट्रिय साझेदारीलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छ ।
