काठमाडौँ । चैत १९ देखि देशभर सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका जाँच यस वर्ष नयाँ व्यवस्थाअनुसार तीव्र रूपमा अघि बढाइएको छ । सरकारले परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेपछि विषयगत परीक्षा सकिएको तीन दिनभित्रै उत्तरपुस्तिका जाँच्ने व्यवस्था लागू गरिएको छ ।
यसअघि परीक्षा सम्पन्न भएपछि मात्र उत्तरपुस्तिका जाँच सुरु हुने प्रचलन थियो । तर यसपटक परीक्षा चलिरहेकै समयमा विषयगत शिक्षकहरूलाई परिचालन गरी स्कुल परिसरमै कापी जाँच्ने व्यवस्था मिलाइएको छ । हरेक विषयको परीक्षा सकिएलगत्तै सम्बन्धित शिक्षकहरूले तीन दिनभित्र उत्तरपुस्तिका जाँच गरी सम्बन्धित निकायमा पठाउनुपर्ने नियम लागू गरिएको छ ।
कीर्तिपुर नगरपालिका–९ स्थित कीर्तिपुर माध्यमिक विद्यालयमा १० विद्यालयका २६४ विद्यार्थी एसईई परीक्षामा सहभागी छन् । विद्यालयकी प्रधानाध्यापक सरला श्रेष्ठका अनुसार आसपासका विद्यालयबाट विषयगत शिक्षकहरू बोलाएर बिहान, दिउँसो वा साँझ समय मिलाएर कापी जाँच गर्ने व्यवस्था गरिएको छ । उनीहरूले केही घण्टा स्कुलमै बसेर उत्तरपुस्तिका जाँच्ने गरेका छन् ।
उत्तरपुस्तिका जाँचलाई व्यवस्थित र सुरक्षित बनाउन विद्यालय परिसरभित्रै सिसिटिभी जडान गरिएको छ भने प्रहरीको चौबीसै घण्टा निगरानी रहने व्यवस्था गरिएको छ । विद्यालयहरू बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालनमा छन् । जाँच प्रक्रिया पारदर्शी बनाउन प्रत्येक उत्तरपुस्तिकाको विवरण अभिलेखमा राखिने गरिएको छ ।
शिक्षक लाइसेन्स प्राप्त र कम्तीमा दुई वर्षदेखि सम्बन्धित विषय अध्यापन गरिरहेका शिक्षकलाई मात्र उत्तरपुस्तिका जाँच्ने अनुमति दिइएको छ । शिक्षकहरूका लागि खाना र नास्ताको व्यवस्था विद्यालयले नै गरेको छ ।
शिक्षकहरूले कामप्रति गम्भीरता देखाउँदै तोकिएको समयभित्रै उत्तरपुस्तिका जाँच पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि प्रतिउत्तरपुस्तिका ३५ रुपैयाँ पारिश्रमिक दिने व्यवस्था भए पनि यस वर्ष सेवासुविधाबारे स्पष्टता नभएको शिक्षकहरूले बताएका छन् ।
देशभर चैत १९ देखि सुरु भएको एसईई परीक्षा चैत २६ गतेसम्म चल्नेछ भने प्राविधिक विषयको परीक्षा चैत २८ गतेसम्म सञ्चालन हुनेछ । यस वर्ष देशभर १ हजार ९६६ परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ, जहाँ प्रत्येक केन्द्रमा अधिकतम १५ जना प्रहरी परिचालन गरिएको छ ।
