काठमाडौँ । नेपाल टेलिकमले आफ्ना प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि लामो समयदेखिको गुनासो सम्बोधन गर्दै ‘पे–एज–यू–गो’ (Pay-As-You-Go) सुविधालाई नियन्त्रण गर्ने नयाँ व्यवस्था ल्याएको छ ।
यसअघि कुनै डाटा प्याकेज खरिद गरेका ग्राहकको प्याक सकिएपछि मुख्य ब्यालेन्सबाट स्वतः पैसा काटिने समस्या थियो, जसले धेरै प्रयोगकर्तामा असन्तुष्टि उत्पन्न गर्दै आएको थियो । अब भने ग्राहकले आफ्नो इच्छाअनुसार प्याकेज सकिएपछि मुख्य ब्यालेन्सबाट डाटा चल्ने वा नचल्ने विकल्प आफैँले व्यवस्थापन गर्न सक्नेछन् । यो ‘पे–एज–यू–गो’ सुविधा सक्रिय वा निष्क्रिय गर्न मोबाइलबाट *१४४४३# डायल गरी मेनुमा गएर आवश्यक सेटिङ परिवर्तन गर्न सकिनेछ । यसअन्तर्गत विकल्प ४ छनोट गरेपछि १, २ वा ३ थिचेर सेवा अन, अफ वा स्टेटस जाँच गर्न सकिने व्यवस्था गरिएको छ ।
यदि ग्राहकले यो सुविधा निष्क्रिय गरेमा डाटा प्याक समाप्त भएपछि इन्टरनेट स्वतः बन्द हुनेछ र मुख्य ब्यालेन्स सुरक्षित रहनेछ । डाटा प्याक नलिई पनि इन्टरनेट चलाउन चाहने प्रयोगकर्ताले भने यो सुविधा सक्रिय राख्न सक्नेछन् । आगामी दिनमा यो सेवा नेपाल टेलिकमको मोबाइल एपमार्फत पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
यसका साथै टेलिकमले डाटा खपत जानकारी दिने प्रणालीमा पनि सुधार गरेको छ । अब डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि ग्राहकलाई एसएमएसमार्फत सूचना पठाइने व्यवस्था गरिएको छ, जसले अनियन्त्रित खर्च रोक्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सुधार कार्ययोजना र मन्त्रिपरिषद्को निर्णयअनुसार ग्राहक हितलाई प्राथमिकता दिँदै यो प्रणाली लागू गरिएको हो । यसले अन्जानमा मुख्य ब्यालेन्स काटिने समस्याबाट प्रयोगकर्तालाई राहत मिल्ने विश्वास गरिएको छ ।
यससँगै नेपाल टेलिकमले नयाँ ‘प्रिपेड कम्बो २९९’ प्याकेज पनि सार्वजनिक गरेको छ, जसको अवधि अब २८ दिनको सट्टा पूर्ण ३० दिन कायम गरिएको छ । सो प्याकेजअन्तर्गत ग्राहकले ३०० मिनेट टक टाइम, ४ जिबी डाटा र टेलिकम नेटवर्कभित्र प्रयोग गर्न मिल्ने २० एसएमएस पाउनेछन् ।
टेलिकमले भविष्यमा अन्य प्याकेजहरूलाई पनि ३० दिनको वैधतामा रूपान्तरण गर्ने योजना बनाएको जनाएको छ ।
