न्युयोर्क । अमेरिका र इरान बीच दुई हप्ते युद्धविरामको सहमति भएपछि विश्व अर्थतन्त्रमा राहतको संकेत देखिएको छ। स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा आउने अपेक्षासँगै तेल तथा ग्यास आपूर्ति सहज हुने आशाले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रभाव पारेको छ।
बुधबार कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने विश्वभरका सेयर बजारहरूमा हरियाली छाएको छ। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायल ले इरान माथि आक्रमण गरेपछि चर्किएको तनावका कारण विश्वको करिब २० प्रतिशत इन्धन ओसार्ने यो रणनीतिक जलमार्ग प्रभावित बनेको थियो, जसले बजारमा अस्थिरता ल्याएको थियो।
डोनाल्ड ट्रम्प ले इरानको पूर्वाधारमाथि आक्रमण गर्ने समयसीमा सकिनु अघि नै युद्धविराम घोषणा गरेपछि बजारमा तुरुन्तै सकारात्मक प्रतिक्रिया देखिएको हो।
अमेरिकी कच्चा तेल (WTI) को फ्युचर्स मूल्य करिब १५ प्रतिशतले घटेर प्रतिब्यारल ९६.३१ डलरमा झरेको छ भने ब्रेन्ट क्रुडको मूल्य पनि करिब १३ प्रतिशतले घटेर प्रतिब्यारल ९५.३६ डलर कायम भएको छ। तेलको भाउ घटेसँगै महँगी नियन्त्रणमा आउने अपेक्षाले लगानीकर्ताहरू उत्साहित भएका छन्।
सेयर बजारतर्फ, अमेरिकी एस एण्ड पी ५०० फ्युचर्स करिब २ प्रतिशतले बढेको छ भने युरोपेली बजारहरू ५ प्रतिशतभन्दा बढीले उकालो लागेका छन्। एशियाली बजारमा पनि उत्साह देखिएको छ—जापानको निक्केई सूचक करिब ५ प्रतिशत र दक्षिण कोरियाको कोस्पी ६ प्रतिशतले बढेपछि केही समयका लागि कारोबार नै स्थगित गर्नुपरेको थियो।
युद्धका बेला सुरक्षित लगानीका रूपमा लिइने अमेरिकी डलर भने कमजोर बनेको छ। जोखिम लिन इच्छुक लगानीकर्ताहरूले डलरबाट बाहिरिँदै सेयर र अन्य परिसम्पत्तिमा लगानी बढाएका छन्। अस्ट्रेलियन डलर र युरोमा समेत मजबुती देखिएको छ।
बजार विश्लेषकहरूका अनुसार यो सुधार तत्कालको राहत मात्र हुन सक्छ वा स्थायी शान्तिको संकेत हो भन्ने कुरा आगामी दुई हप्ताको वार्ताले निर्धारण गर्नेछ। साक्सो बैंक की रणनीतिकार चारु चननाले बीमा कम्पनी र ट्याङ्कर सञ्चालकहरूले होर्मुज जलमार्गमा पुनः ढुवानी गर्न कति विश्वास गर्छन् भन्ने कुराले बजारको दीर्घकालीन दिशा तय गर्ने बताएकी छन्।
यद्यपि, केही विश्लेषकहरूले युद्धको मूल कारण अझै समाधान नभएकाले हालको सुधार अल्पकालीन हुन सक्ने चेतावनी दिएका छन्। अमेरिकी ट्रेजरी नोटको प्रतिफल घटेसँगै फेडरल रिजर्भ ले यसै वर्ष ब्याजदर घटाउन सक्ने अपेक्षा पुनः बलियो बनेको छ।
