काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह का प्रमुख राजनीतिक सल्लाहकार असिम शाह को संयोजकत्वमा गठन गरिएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्न लागेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार उक्त कार्यदल गठन गरिएको हो। कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट संविधानसभा सदस्यसमेत रहेका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारी, नेपाल कम्युनिस्ट पार्टी का तर्फबाट पूर्व कानुनमन्त्री देव प्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टी का संसदीय दलका नेता ज्ञानेन्द्र शाही तथा राष्ट्रिय जनमोर्चा का महासचिव मनोज भट्ट सदस्य रहेका छन्।
यस्तै, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल तथा श्रम संस्कृति पार्टीका प्रतिनिधि पठाउने विषयमा आन्तरिक छलफल भइरहेको जनाइएको छ। ती दलहरूले सम्भवतः आजै आफ्नो प्रतिनिधिको टुंगो लगाउने तयारी गरेका छन्।
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोग की सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा रहेका छन्।
यसैगरी, कार्यदलको सदस्य सचिवका रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन्।
संविधान संशोधनसम्बन्धी बहसलाई व्यवस्थित र समन्वित बनाउन यो कार्यदल गठन गरिएको हो। कार्यदलले विभिन्न राजनीतिक दल, सरोकारवाला निकाय तथा विज्ञहरूसँग छलफल गरी संशोधनका सम्भावित विषयहरू समेटिएको बहसपत्र तयार गर्ने अपेक्षा गरिएको छ।
