काठमाडौँ । देशभर आज ‘दशौँ स्वास्थ्य बीमा दिवस’ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। यस वर्ष दिवसको नारा ‘राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान’ राखिएको छ।
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगका क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम रूपमा व्यवस्थापन गर्दै नागरिकलाई वित्तीय संरक्षण प्रदान गर्ने उद्देश्यले सरकारले सञ्चालनमा ल्याएको महत्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रम हो। २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रूपमा सुरु गरिएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्ड मार्फत सञ्चालन हुँदै आएको छ।
यस कार्यक्रमको मुख्य उद्देश्य नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनु रहेको छ। सामाजिक स्वास्थ्य बीमाको अवधारणामार्फत सबै नागरिकलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्दै सर्वव्यापी स्वास्थ्य सेवातर्फ नेपाललाई अग्रसर बनाउने लक्ष्य राखिएको छ। साथै, सन् २०३० सम्मका दिगो विकास लक्ष्य हासिल गर्न पनि यसले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपालको नेपालको संविधान ले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क तथा सामाजिक सुरक्षाको हकका रूपमा सुनिश्चित गरेको छ। संविधानको धारा ५१ (ज) मा नागरिकको आधारभूत आवश्यकताअन्तर्गत स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्योपचारमा सहज पहुँचको व्यवस्था मिलाउने उल्लेख गरिएको छ।
नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारको संरक्षण, स्वास्थ्योपचारमा लाग्ने आर्थिक जोखिम न्यूनीकरण तथा सेवा प्रदायक संस्थाहरूको दक्षता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य बीमा ऐन २०७४ लागू गरिएको हो।
यस कार्यक्रमलाई थप व्यवस्थित बनाउन स्वास्थ्य बीमा नियमावली २०७५ समेत लागू गरिएको छ, जसले स्वास्थ्य बीमाको सुविधाको दायरा विस्तार गरेको छ। नियमावलीअनुसार ज्येष्ठ नागरिकका लागि सरकारले नै बीमा शुल्क व्यहोर्ने व्यवस्था गरिएको छ, जसअन्तर्गत वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइएको छ।
त्यसैगरी, संगठित क्षेत्रका कर्मचारीलाई आम्दानीको एक प्रतिशत योगदान गर्दै स्वास्थ्य बीमामा आबद्ध हुने अनिवार्य व्यवस्था गरिएको स्वास्थ्य बीमा बोर्ड ले जनाएको छ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रममार्फत सबै नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने लक्ष्य लिएको जनाएको छ।
