काठमाडौँ । देशका विभिन्न क्षेत्रमा आज मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखा ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका मौसमविद् रोजन लामिछाने का अनुसार हाल पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव सक्रिय रहेको छ र आजदेखि यसको प्रभाव थप बढ्ने देखिएको छ। यसका कारण देशका विभिन्न भागमा मौसम बदली भई वर्षा तथा हिमपातको सम्भावना रहेको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार पश्चिम नेपालका क्षेत्रमा यसको प्रभाव बिहानैदेखि देखिन सुरु भइसकेको छ भने दिउँसोसम्म यसको प्रभाव काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रसम्म फैलिने सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै, मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि वर्षा र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रहरूमा हिमपात हुने अनुमान गरिएको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भारी वर्षा वा हिमपात समेत हुन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ। साथै, मधेस, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा हावाहुरीको जोखिम पनि उच्च रहने बताइएको छ।
यसैबीच, भोलि पनि कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायम रहने महाशाखाले जनाएको छ।
महाशाखाले विशेषगरी कृषक, यात्रु तथा सर्वसाधारणलाई मौसमको अवस्थाबारे नियमित जानकारी लिन, आवश्यक सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेको छ।
