तेहरान । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिका र इजरायलसँग जारी तनाव अन्त्य गर्न १० बुँदे सर्तसहितको कार्ययोजना अघि सारेको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यो प्रस्ताव आगामी १५ दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा हुने वार्तामा अन्तिम रूप दिने तयारी गरिएको छ ।
इरानले यस प्रस्तावलाई युद्धमैदानमा प्राप्त उपलब्धिलाई कूटनीतिक वार्तामार्फत संस्थागत गर्ने रणनीतिक प्रयासका रूपमा व्याख्या गरेको छ । प्रस्तावमा इराक, लेबनान र यमनलगायत क्षेत्रमा जारी सबै संघर्ष पूर्ण रूपमा रोक्नुपर्ने तथा इरानमाथि हुने आक्रमण बिना समयसीमा स्थायी रूपमा अन्त्य गर्नुपर्ने मुख्य सर्त समावेश छन् । साथै क्षेत्रीय सबै द्वन्द्वको पूर्ण अन्त्य हुनुपर्ने उल्लेख गरिएको छ ।
सर्तहरू पूरा भएमा रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज जलमार्ग पुनः खोल्ने र त्यहाँ जहाज आवतजावतका लागि नयाँ सुरक्षा प्रोटोकल लागू गर्ने इरानको योजना छ । आर्थिक पक्षमा युद्धका कारण भएको क्षतिको पूर्ण पुनर्निर्माण क्षतिपूर्ति, अमेरिकाले लगाएका सबै प्रतिबन्ध हटाउने र रोक्का इरानी सम्पत्ति तथा कोष फुकुवा गर्ने माग गरिएको छ ।
इरानले यी सर्तहरू पूरा भएमा परमाणु हतियार विकासको दौडमा नलाग्ने प्रतिबद्धता समेत दोहोर्याएको छ । प्रस्ताव स्वीकृत भए सबै मोर्चामा तत्काल युद्धविराम लागू हुने दाबी इरानको छ । विश्लेषकहरूका अनुसार यो प्रस्तावले मध्यपूर्वको कूटनीतिक समीकरणलाई नयाँ मोड दिन सक्नेछ भने अमेरिका र इजरायलको प्रतिक्रिया निर्णायक हुने देखिएको छ ।
