कैलाली । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसभाको बैठक आज कैलालीको गेटामा बस्दैछ । विश्वविद्यालय स्थापनापछि पहिलोपटक बैठक आफ्नै परिसरमा हुन लागेको हो ।
यसअघि तीन पटकसम्म विश्वविद्यालयसभाको बैठक संघीय राजधानी काठमाडौँमा भएको थियो । तर यसपटक पहिलोपटक विश्वविद्यालय रहेको स्थान गेटामै बैठक बस्न लागेको हो ।
सभा अध्यक्षसमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेल मंगलबार नै कैलाली पुगिसकेका छन् ।
विश्वविद्यालयको सर्वोच्च निकायका रूपमा विश्वविद्यालयसभा गठन गरिएको छ । यसको अध्यक्ष विश्वविद्यालयका सह–कुलपति तथा शिक्षा मन्त्री रहने व्यवस्था छ भने सह–कुलपति रहेका स्वास्थ्य मन्त्री पनि सदस्य हुन्छन् । यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, उपकुलपति र गोदावरी नगरपालिकाका प्रमुखलगायत सदस्य रहने कानुनी व्यवस्था छ । विश्वविद्यालयको कुलपति भने प्रधानमन्त्री रहने प्रावधान छ ।
विश्वविद्यालयमा चिकित्सा शिक्षा अध्यापन सुरु गर्ने तयारी भइरहेको छ । आगामी शैक्षिक सत्रदेखि एमबीबीएस, नर्सिङ, बीएस्सी एमएलटी र बी अप्टोमेटरी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका लागि ७५ प्रतिशत छात्रवृत्तिको वित्तीय स्रोत सुनिश्चित गरिसकेको छ । आर्थिक वर्ष २०८२/८३ का लागि चिकित्सकहरूको तलबबापत पाँच करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ । साथै आगामी वर्षका लागि माग गरिएको २ अर्ब ५३ करोड रुपैयाँ बजेटसमेत स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको छ ।
