काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा गएराति नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक १९ वर्षीय युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका बिराज थामी रहेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गएराति साढे ११ बजेतिर जडिबुटी–पेप्सिकोला सडकखण्डमा गम्भीर घाइते अवस्थामा फेला परेका थामीलाई तत्काल भक्तपुरस्थित इन्टरनेशनल अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको राति नै मृत्यु भएको एसपी नरेश सुवेदीले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकको टाउकोमा गम्भीर चोट लागेको थियो । ठक्कर दिने सवारी साधनको पहिचान हालसम्म हुन सकेको छैन भने चालकको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
