काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनमा व्यहोरेको पराजयको गहिरो समीक्षा गर्न आजदेखि देशव्यापी कार्यक्रम सुरु गरेको छ। पार्टीले १६५ वटै निर्वाचन क्षेत्रमा पुगेर संगठन, उम्मेदवारी, रणनीति र मत परिणामको विश्लेषण गर्ने लक्ष्य लिएको जनाएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत नतिजा आउन नसकेपछि कांग्रेसले यसको कारण खोज्न र आगामी रणनीति तय गर्न समीक्षा अभियान सुरु गरेको हो। यस अभियानमार्फत स्थानीय स्तरदेखि केन्द्रीय तहसम्मका नेता–कार्यकर्ताबाट सुझाव संकलन गरिनेछ।
कांग्रेसका महामन्त्री प्रदीप पौडेलका अनुसार पहिलो चरणको कार्यक्रम आज जनकपुरबाट सुरु हुँदैछ। मधेश प्रदेश अन्तर्गतका निर्वाचन क्षेत्रका उम्मेदवार, क्षेत्रीय सभापति, जिल्ला सभापति, प्रदेश सभापति, केन्द्रीय सदस्य, समानुपातिक उम्मेदवार तथा प्रदेश पदाधिकारीहरूको सहभागिता रहनेछ।
उनका अनुसार समीक्षा कार्यक्रममा निर्वाचनका क्रममा भएका कमजोरी, अन्तर्घात, संगठनको अवस्था, जनताको अपेक्षा तथा प्रचार–प्रसार रणनीतिबारे विस्तृत छलफल हुनेछ। साथै, आगामी चुनावलाई लक्षित गरी संगठन सुदृढीकरण र नयाँ रणनीति तय गर्ने उद्देश्य पनि रहेको छ।
कार्यतालिका अनुसार चैत २७ गते पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यक्रम हुनेछ भने चैत २९ गते बुटवलमा लुम्बिनी प्रदेशको समीक्षा गरिनेछ। त्यसैगरी वैशाख ३ गते सुर्खेत, वैशाख ५ गते धनगढी, वैशाख ७ गते हेटौँडा र वैशाख ९ गते विराटनगरमा क्रमशः प्रदेशस्तरीय समीक्षा कार्यक्रम आयोजना गरिनेछ।
पार्टीले यस अभियानलाई केवल औपचारिक समीक्षा मात्र नभई आगामी राजनीतिक दिशा निर्धारणको आधारका रूपमा लिएको जनाएको छ। स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय बलियो बनाउने, जनविश्वास पुनः प्राप्त गर्ने र संगठनलाई पुनः सक्रिय बनाउनेतर्फ यो कार्यक्रम केन्द्रित रहने नेताहरूले बताएका छन्।
विश्लेषकहरूका अनुसार कांग्रेसको यो कदमले पार्टीभित्रको आन्तरिक एकता मजबुत बनाउने, कमजोरी पहिचान गर्ने र आगामी निर्वाचनमा प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
