काठमाडौँ । मध्यपूर्व क्षेत्रमा पछिल्लो समय बढ्दै गएको तनाव र सम्भावित युद्धको अवस्थालाई ध्यानमा राख्दै इजरायलस्थित नेपाली दूतावास ले त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
दूतावासले जारी गरेको विस्तृत सूचनामा वर्तमान सुरक्षा अवस्थालाई संवेदनशील मान्दै अनावश्यक हिँडडुल नगर्न, भीडभाड हुने स्थानबाट टाढा रहन र आफू बसिरहेको स्थानमै सुरक्षित तरिकाले बस्न सुझाव दिइएको छ। साथै, कुनै पनि आकस्मिक परिस्थिति आउन सक्ने भएकाले मानसिक रूपमा तयार रहन र संयमता अपनाउन समेत दूतावासले आग्रह गरेको छ।
दूतावासले विशेष गरी इजरायल सरकारको होम फ्रन्ट कमाण्ड लगायतका आधिकारिक निकायहरूले जारी गर्ने सुरक्षा निर्देशिका, चेतावनी तथा अद्यावधिक सूचनाहरू अनिवार्य रूपमा पालना गर्न सबै नेपालीलाई अनुरोध गरेको छ। यस्ता निकायहरूले समय-समयमा दिने निर्देशनले सम्भावित जोखिमबाट बच्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले त्यसलाई बेवास्ता नगर्न भनिएको छ।
सूचनामा उल्लेख भएअनुसार, मोबाइल फोनमा आपतकालीन अलर्ट सन्देश प्राप्त भएमा वा साइरन बजेमा कुनै पनि हालतमा हेलचेक्र्याइँ नगरी तुरुन्तै नजिकैको सुरक्षित स्थान (सेल्टर) मा पुग्नुपर्नेछ। यसका लागि आफू नजिकको सेल्टर कहाँ छ भन्ने जानकारी पहिले नै राख्न र आवश्यक परेमा छिटो पुग्न सकिने तयारी अवस्थामा रहन दूतावासले जोड दिएको छ।
त्यसैगरी, दूतावासले सबै नेपालीलाई राहदानी, परिचयपत्र, सवारी चालक अनुमतिपत्र, बैंक कार्ड लगायतका अत्यावश्यक कागजातहरू सधैं सुरक्षित रूपमा आफूसँगै राख्न सुझाव दिएको छ। आकस्मिक अवस्थामा यस्ता कागजातले आवतजावत, पहिचान र सहयोग प्राप्त गर्न सहज बनाउने भएकाले यसमा विशेष ध्यान दिन भनिएको छ।
सामाजिक सञ्जालको प्रयोगमा पनि सावधानी अपनाउन दूतावासले आग्रह गरेको छ। युद्ध वा सुरक्षासम्बन्धी संवेदनशील भिडियो, फोटो वा अपुष्ट जानकारीहरू अनावश्यक रूपमा शेयर गर्दा सुरक्षा जोखिम बढ्न सक्ने भएकाले यस्ता गतिविधि नगर्न स्पष्ट रूपमा भनिएको छ। आधिकारिक स्रोतबाट मात्र प्रमाणित जानकारी लिन र अफवाह फैलिन नदिन सबैलाई सचेत रहन आग्रह गरिएको छ।
यसबाहेक, दूतावासले आफ्ना परिवार, साथीभाइ तथा आफन्तहरूसँग नियमित सम्पर्कमा रहन पनि जोड दिएको छ। कुनै आपतकालीन अवस्था आइपरेमा तत्काल जानकारी आदानप्रदान गर्न र सहयोग जुटाउन यसले महत्वपूर्ण भूमिका खेल्ने दूतावासको भनाइ छ।
दूतावासले आवश्यक परेमा सम्पर्क गर्न मिल्ने आपतकालीन नम्बरहरू समेत उपलब्ध गराउँदै नेपाली नागरिकहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ। साथै, अवस्था थप जटिल बनेमा थप निर्देशन र सहयोग उपलब्ध गराइने दूतावासले स्पष्ट पारेको छ।
