काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। निर्धारित कार्यतालिका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ।
आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यक्रम छ। सो विधेयक पेश गर्नुअघि उहाँले संसदमा अनुमति माग्ने प्रस्ताव पनि राख्नेछन्।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यसूची पनि तय गरिएको छ।
उता, राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्नेछ। उक्त बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाह ले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यक्रम रहेको छ।
