काठमाडौँ । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे तत्कालीन नेतृत्वले जिम्मेवारी स्वीकार गर्नुपर्ने बताएका छन्।
मंगलबार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पुनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले गोली चलाउने प्रत्यक्ष आदेश नदिएको दाबी गरे पनि सरकारको नेतृत्वमा रहेकाले नैतिक जिम्मेवारी लिनुपर्ने बताए। उनले गलत भएको स्वीकार गर्दै माफी माग्न हिच्किचाउनु नहुने धारणा व्यक्त गरे।
उनले भने, “गोली चलाउने आदेश नदिएको हुन सक्छ, तर नेतृत्व उनीहरूसँगै थियो। आफू प्रमुख भएको बेला मातहतबाट गल्ती भयो भने त्यसलाई स्वीकार गर्न सक्नुपर्छ। ‘गल्ती भएछ’ भनेर भन्नु र आवश्यक परे माफी माग्नु कमजोरी होइन।”
पुनले जिम्मेवार पदमा बसेपछि उत्तरदायित्वबाट पन्छिन नहुने उल्लेख गर्दै गल्ती स्वीकार नगर्ने हो भने नेतृत्वको अर्थ नहुने टिप्पणी गरे।
अर्को प्रसङ्गमा उनले संसद्मा सांसदहरूले उठाएका मागहरूलाई सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए। देशका समस्याहरू समाधान गर्दै अघि बढ्नु सरकारको दायित्व भएकाले त्यसमा ढिलाइ गर्न नहुने उनले बताए।
