काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतका चारवटा समितिमा सभापति निर्विरोध चयन भएका छन्। सङ्घीय संसद् सचिवालयले तोकेको समयभित्र प्रत्येक समितिमा एक–एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै सभापति निर्विरोध निर्वाचित भएका हुन्।
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरू—नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालबीच समितिका सभापति तथा उपसभापति पदमा भागबण्डा गरिएको थियो। सोही सहमतिअनुसार नेकपा एमालेले राष्ट्रिय सभाको उपाध्यक्ष पद पाएको छ। उक्त पदमा एमालेकी सांसद लीला भण्डारी निर्विरोध निर्वाचित भई शपथ ग्रहण गरेर पदभारसमेत सम्हालिसकेकी छन्।
सम्झौताअनुसार नेपाली कांग्रेसले दुईवटा, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले एक–एकवटा समिति सभापति पाउने सहमति भएको थियो। त्यसकै आधारमा उम्मेदवारी परेको देखिन्छ।
कांग्रेसका तर्फबाट विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्णप्रसाद पौडेल तथा विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन्। पौडेल कांग्रेस केन्द्रीय कार्यालयका निवर्तमान मुख्यसचिव हुन् भने रोकाय राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतकका रूपमा कार्यरत थिए।
त्यस्तै, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा निर्विरोध निर्वाचित भएकी छन्। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद जयन्तीदेवी राई निर्वाचित भएकी छन्।
राष्ट्रिय सभामा हाल नेपाली कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७, नेकपा एमालेका १० र जनता समाजवादी पार्टी नेपालका ३ सांसद रहेका छन्। त्यसैगरी राष्ट्रिय जनमोर्चाका १ सांसद र दुई जना सरकारको सिफारिसमा मनोनीत सदस्य रहेका छन्।
