काठमाडौं। प्रतिनिधिसभाको बैठकमा सांसदहरूले विभिन्न स्थानीय मुद्दाहरू उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रमुख विषयहरूमा पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट गर्ने, नदीजन्य वस्तु उत्खनन, सडक दुर्घटना, र प्रतिबन्धित क्षेत्र व्यवस्थापन समावेश छन्।
सांसद अशोक चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बार्षिक बाढीबाट हुने डुबानको दीगो समाधानका लागि सरकारसँग आग्रह गरे। सांसद आकृति अवस्थीले सुशासन पक्षधर र भ्रष्टाचार विरोधी जेनजी आन्दोलनमा दमन गर्नेहरूविरुद्ध कानुनी कारबाही आवश्यक रहेको जोड दिइन्।
सांसद आर्यन राईले खोटाङलगायत पूर्वी पहाडका कृषि क्षेत्रमा बाँदर आतंक समाधानका उपायमा सरकारलाई जानकारी गराएको उल्लेख गर्दै शीघ्र समाधानको माग गरे। सांसद आशिष गजुरेलले दैनिक सात जनाको मृत्यु हुने सडक दुर्घटनाको तथ्य प्रस्तुत गर्दै तत्काल सडक सुरक्षा विधेयक पेस गर्न आग्रह गरे।
सांसद आशिका तामाङले त्रिशूली नदी लगायतका क्षेत्रमा भइरहेको अव्यवस्थित नदीजन्य वस्तुको उत्खननलाई नियन्त्रित गर्न माग गरिन्। सांसद इन्दिरा रानामगरले युवा दुव्र्यसन रोकथामका लागि नयाँ कार्यक्रम ल्याउनुपर्ने माग गरे।
सांसद एलिजा गुरुङले मनाङ–मुस्ताङका विभिन्न स्थानमा घोषणा गरिएका प्रतिबन्धित क्षेत्र खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न जोड दिइन्।
