काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह ले मन्त्रिपरिषद्का मन्त्रीहरूको वरीयता हेरफेर गरेका छन्। १३ चैतमा मन्त्रिपरिषद् विस्तार गर्दा तेस्रो वरीयतामा रहेका सुधन गुरुङ अब पाँचौँ स्थानमा रहेका छन् भने चौथो स्थानमा रहेका शिशिर खनाल को वरीयता बढाएर तेस्रोमा राखिएको छ। सबैभन्दा पुछारमा अर्थात् वरीयताको १५औँ नम्बरमा दीपककुमार साह छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले प्रधानमन्त्री शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका हुन्। पहिलोमा प्रधानमन्त्री शाह हुँदा दोस्रोमा स्वर्णिम वाग्ले छन्, चौथोमा विराजभक्त श्रेष्ठ, छैटौँमा सुनील लम्साल रहेका छन्। सातौँदेखि १५औँसम्म क्रमशः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी, संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा जनसंख्या, खानेपानी मन्त्री निशा मेहता, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना, कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण मन्त्री गीता चौधरी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह रहेका छन्।

