काठमाडौँ । सरकारले केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका ६ देशका राजदूतहरुलाई फिर्ता बोलाएको छ । भारत, अस्ट्रेलिया, श्रीलंका, डेनमार्क, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका लागि खटाइएका राजदूतहरुलाई फिर्ता बोलाइएको हो ।
भारतका लागि शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, डेनमार्कका लागि सुम्निमा तुलाधर, श्रीलंकाका लागि पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे तथा दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ राजदूत रहेका छन् ।
परराष्ट्र मन्त्रालय का प्रवक्ता लोकबहादुर क्षेत्री पौडेल का अनुसार आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ती राजदूतहरुलाई एक महिनाभित्र फर्किन सोमबार पत्राचार गरिएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले ३४ कूटनीतिक नियोगमध्ये १७ स्थानमा राजनीतिक कोटाबाट राजदूत नियुक्त गरेको थियो । तीमध्ये ११ देशका राजदूतहरुलाई यसअघि नै अन्तरिम चुनावी सरकारको नेतृत्वमा सुशीला कार्की को कार्यकालमा फिर्ता बोलाइएको थियो भने बाँकी ६ जनालाई वर्तमान सरकारले फिर्ता बोलाएको हो ।
यसअघि फिर्ता बोलाइएका राजदूतहरुले परराष्ट्र मन्त्रालय मा हाजिर भई स्वदेश फर्किने गरेका छन् ।
