नयाँदिल्ली । भारत ले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ । घरेलु प्रविधिबाट डिजाइन गरिएको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टर (पिएफबिआर) ले सफलतापूर्वक नियन्त्रित आणविक शृङ्खला प्रतिक्रिया सुरु गर्दै ‘क्रिटिकल’ अवस्था हासिल गरेको छ, जुन विद्युत् उत्पादन अघि अत्यन्तै महत्त्वपूर्ण चरण मानिन्छ ।
ऊर्जा माग तीव्र रूपमा बढिरहेको र हरितगृह ग्यास उत्सर्जनमा विश्वमै अग्रस्थानमा रहेको भारत ले सन् २०४७ सम्म आणविक ऊर्जा क्षमता करिब आठ गिगावाटबाट १०० गिगावाट पुर्याउने लक्ष्य राखेको छ । यस उपलब्धिलाई दीर्घकालीन ऊर्जा सुरक्षातर्फको रणनीतिक कदमका रूपमा हेरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी ले कलपक्कमस्थित उक्त रिएक्टर ‘क्रिटिकल’ अवस्थामा पुगेको जानकारी दिँदै यसलाई असैन्य आणविक कार्यक्रमको दोस्रो चरणतर्फको निर्णायक प्रगति बताएका छन् । उनले यस उपलब्धिले स्वदेशी वैज्ञानिक क्षमता र इन्जिनियरिङ दक्षताको स्पष्ट झल्को दिने उल्लेख गरेका छन् ।
यस रिएक्टरको विशेषता भनेको प्रयोग गरिएकोभन्दा बढी इन्धन उत्पादन गर्न सक्ने क्षमता हो । यसले भविष्यमा भारतका विशाल थोरियम भण्डारको उपयोगतर्फ मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ । थोरियमलाई दीर्घकालीन रूपमा सुरक्षित र सम्भावनायुक्त आणविक इन्धन मानिन्छ ।
हाल उक्त रिएक्टरबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भइसकेको छैन । प्राविधिक रूपमा पूर्ण क्षमतामा सञ्चालनमा पुगेपछि मात्र यसले राष्ट्रिय ग्रिडमा विद्युत् आपूर्ति गर्नेछ ।
विश्वव्यापी ऊर्जा आपूर्ति अस्थिर भइरहेका बेला, विशेषगरी मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धन आपूर्तिमा अनिश्चितता बढिरहेका सन्दर्भमा भारत को यो उपलब्धि अझ महत्त्वपूर्ण मानिएको छ ।
हालसम्म कोइलामा अत्यधिक निर्भर ऊर्जा संरचना रहेको भारत ले सन् २०७० सम्म ‘शुद्ध–शून्य’ उत्सर्जन लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ । यस लक्ष्यलाई पूरा गर्न आणविक ऊर्जालाई दीगो तथा वैकल्पिक स्रोतका रूपमा विस्तार गर्ने नीति अघि सारिएको छ ।
