काठमाडौँ । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालय ले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो ।
नयाँ प्रणालीमार्फत देशभरका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपाल का कार्यालयहरूसँग सिधा सम्पर्क कायम गरिनेछ । यसले सूचना आदानप्रदानलाई तीव्र बनाउनुका साथै महत्त्वपूर्ण स्थानहरूको प्रत्यक्ष अनुगमनमा सहयोग पुग्ने मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले ले जानकारी दिएका छन् ।
यसैबीच सुधन गुरुङ ले उक्त प्रणालीको स्थापना कार्य तत्काल अघि बढाउन निर्देशन दिएका छन् । साथै सर्वसाधारणले दिएका उजुरी तथा दर्ता भएका जाहेरीहरूको प्रगति विवरण अब सम्बन्धित व्यक्तिलाई फोन, एसएमएस र इमेलमार्फत उपलब्ध गराइने व्यवस्था पनि लागू गरिने भएको छ ।
नेपाल प्रहरी ले यस सम्बन्धमा मातहतका कार्यालयहरूलाई आवश्यक निर्देशन दिइसकेको जनाएको छ । गृहमन्त्री गुरुङले उक्त व्यवस्थाको साप्ताहिक प्रतिवेदन मन्त्रालयमा पेस गर्न तथा क्रमशः अन्य निकायहरूमा समेत विस्तार गर्न निर्देशन दिएका छन् ।
बैठकले मन्त्रालय र मातहतका निकायहरूको कार्यसम्पादनमा जनताको गुनासो सुन्ने प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । यसका लागि सबै कार्यालयमा गुनासो व्यवस्थापन संयन्त्र सक्रिय बनाइनेछ भने मन्त्रालयमा कल सेन्टर स्थापना गरी जनगुनासो सम्बोधन गरिनेछ ।
