कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सुर्खेतस्थित वीरेन्द्रनगरमा आज बसेको मन्त्रिपरिषद् बैठकले विसं २०८३ मा थप बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह ले जानकारी दिए ।
उनका अनुसार चैत १२ गते (धान दिवस) र असोज २२ गते चन्दननाथ मन्दिर को लिङ्गो बोक्ने मेलाका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । यी बिदा जुम्ला जिल्लामा मात्र लागू हुनेछन् । यस्तै, असार १५ गतेको राष्ट्रिय धान दिवसमा भने जुम्लाबाहेक अन्य नौ जिल्लामा सार्वजनिक बिदा दिइनेछ ।
त्यसैगरी साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस र कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका अवसरमा प्रदेशभर सार्वजनिक बिदा रहनेछ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को अनुसूची–२ मा हेरफेर गरी उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशन गर्ने निर्णयसमेत गरेको प्रवक्ता शाहले बताएका छन् ।
