कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको सहयोगमा चैत २५ गतेदेखि २७ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवबारे सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
आयोजकका अनुसार सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै स्थानीय धार्मिक, सांस्कृतिक सम्पदा र लोपोन्मुख कला–संस्कृतिको संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवका अध्यक्ष अङ्गत राईले कोशी किनार क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको बताए।
सह–संयोजक भविश श्रेष्ठका अनुसार महोत्सव अवधिभर मौलिक सांस्कृतिक नृत्य तथा झाँकी प्रदर्शन गरिनेछ। साथै, कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा चरा अवलोकन, रामधुनी मन्दिर दर्शन र बोराबाँधमा सूर्यास्त अवलोकनजस्ता कार्यक्रमहरू पनि समावेश गरिएका छन्।
त्यस्तै साँझको समयमा लाखे नाच र धान नाच प्रदर्शन गरिनेछ। महोत्सवको अन्तिम दिन चैत २७ गते वराहक्षेत्र मन्दिर दर्शन, त्यसपछि बोराबाँधसम्म ¥याफ्टिङ, जेट बोट, एटिभी राइडिङ, नौका सयर तथा बगर खेलकुदलगायत साहसिक गतिविधिहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।
महोत्सवमा नेपालका विभिन्न स्थानका साथै भारत र अन्य देशका पर्यटक तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आगन्तुकहरूका लागि स्थानीय अर्गानिक परिकारको व्यवस्था पनि गरिने बताइएको छ।
पर्यटन कार्यालय धरानका अधिकृत केशव फुयाँलले यस्ता कार्यक्रमले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने र कोशी नदी किनारको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
