काठमाडौँ — कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिका–२, बरगदामा केही दिनअघि हिन्दू मन्दिरमा भएको तोडफोडको विरोधमा भएको शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका अरुण यादवको उपचारका क्रममा मृत्यु भएको छ।
घटनापछि राष्ट्रिय एकता दलले गहिरो दुःख व्यक्त गर्दै दिवंगत यादवप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। दलले जारी गरेको प्रेस विज्ञप्तिमा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्दै भगवानसँग आत्माको शान्ति तथा परिवारलाई यो कठिन घडी सहने शक्ति प्रदान होस् भन्ने कामना गरिएको छ।
दलले शान्तिपूर्ण आन्दोलनमा सहभागी नागरिकमाथि गोली प्रहार हुनु लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भएको भन्दै घटनाको कडा शब्दमा निन्दा गरेको छ।
साथै, राष्ट्रिय एकता दलले सरकारसमक्ष पाँच बुँदे माग पनि अघि सारेको छ। मागहरूमा स्वर्गीय अरुण यादवलाई शहीद घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति तथा आजीवन संरक्षणको व्यवस्था गर्न, घटनामा संलग्न प्रहरीमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न, धार्मिक आस्थामाथि आक्रमण गर्ने दोषीलाई पक्राउ गर्न तथा देशभर धार्मिक सद्भाव कायम गर्न प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।
दलका केन्द्रीय अध्यक्ष विनय यादवले “धर्म, राष्ट्र र नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन” भन्ने प्रतिबद्धता दोहोर्याउँदै पार्टी सधैं राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र नागरिक अधिकारको पक्षमा उभिने बताएका छन्।
