काठमाडौँ — गृहमन्त्री सुधन गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने भएका छन्। वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्या सम्बन्धी निरन्तर गुनासो बढेपछि गृहमन्त्री गुरुङले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन्।
निरीक्षणका क्रममा उनले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था, उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने कार्यक्रम रहेको बताइएको छ। बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने तयारी समेत गरिएको छ।
स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी कार्यालयहरूसँग समन्वय गर्दै दीर्घकालीन समाधानका उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ। रोशी खोला क्षेत्रमा हरेक वर्ष बाढी र कटानको समस्या दोहोरिने भएकाले स्थायी समाधानका लागि प्रभावकारी योजना आवश्यक रहेको स्थानीयवासीले बताउँदै आएका छन्।
