तमिलनाडुको सथानकुलममा भएको बाबु–छोराको हिरासतमा हत्या प्रकरणमा मदुरैको एक स्थानीय अदालतले कडा फैसला सुनाउँदै नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय तोकेको छ। मदुरैका प्रथम अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश जी. मुथुकुमारनले सन् २०२० मा हिरासतमा यातना दिई हत्या गरिएको अभियोगमा ती प्रहरीलाई दोषी ठहर गर्दै मृत्युदण्डको आदेश दिएका हुन्।
दोषी ठहर भएका प्रहरीहरूमा तत्कालीन प्रहरी निरीक्षक एस. श्रीधर, उप–निरीक्षक पी. रघु गणेश र के. बालकृष्णन, हवल्दार एस. मुरुगन र ए. सामीदुरई तथा सिपाहीहरू एम. मुथुराजा, एस. वेल मुथु, एस. चेल्लादुरई र एक्स थोमस फ्रान्सिस रहेका छन्। यस घटनामा संलग्न एक अन्य प्रहरी सहायक उप–निरीक्षक पाउलदुरईको सन् २०२० मै कोरोना संक्रमणका कारण मृत्यु भइसकेको थियो।
घटना सन् २०२० जुन १९ मा भएको थियो, जब व्यापारी पी. जयराजलाई कोरोना महामारीको निषेधाज्ञा समयमा पसल खोलेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनका छोरा बेनिक्स आफ्ना बुबालाई छोड्न अनुरोध गर्न प्रहरी चौकी पुगेपछि उनीमाथि पनि दुर्व्यवहार भएको र त्यसपछि बाबु–छोरालाई रातभर हिरासतमा राखेर यातना दिइएको अभियोजन पक्षले जनाएको छ।
न्यायिक दण्डाधिकारीले पछि उनीहरूलाई न्यायिक हिरासतमा पठाउने आदेश दिए पनि अवस्था बिग्रँदै जाँदा बेनिक्सको २२ जुन २०२० मा र जयराजको त्यसको भोलिपल्ट मृत्यु भएको थियो। शव परीक्षण प्रतिवेदनले दुवैको शरीरमा दर्जनौं चोटपटक रहेको र ती चोटकै कारण मृत्यु भएको पुष्टि गरेको अभियोजनले जनाएको छ।
मुद्दा सुरुवातमा प्रदेशस्तरीय अनुसन्धानपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) लाई हस्तान्तरण गरिएको थियो। सीबीआईले २०२० सेप्टेम्बरमा आरोपपत्र दायर गरेको थियो भने २०२१ देखि मदुरै अदालतमा नियमित सुनुवाइ चलेको थियो। चार वर्षभन्दा लामो सुनुवाइपछि अदालतले यो मुद्दालाई ‘दुर्लभभन्दा दुर्लभ’ श्रेणीमा राख्दै मृत्युदण्डको सजाय सुनाएको हो।
