झापाको पूर्वीनाका काँकडभिट्टामा यात्रुहरूलाई जबर्जस्ती तानातान गर्ने २४ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले सोमबार नाकाको बसपार्क, भन्सार क्षेत्र र बजार आसपासबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका सबै पुरुष हुन्।
प्रहरीका अनुसार लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रु चढाउन, होटलमा बास बसाउन तथा अस्पतालसम्म पुर्याइदिने बहानामा यात्रुहरूलाई अनावश्यक रूपमा झुक्याउने र दबाब दिने गतिविधि बढ्दै गएपछि उनीहरूलाई पक्राउ गरिएको हो। यात्रुहरूबाट लगातार गुनासो आएपछि सोमबार बिहानैदेखि इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नाका, बसपार्क, बजार र भन्सार क्षेत्रमा विशेष निगरानी तथा प्रहरी परिचालन गरेको थियो।
पक्राउ परेकामाथि हाल आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले यात्रुहरूलाई अनावश्यक हैरानी दिने यस्ता गतिविधि नियन्त्रण गर्न अभियान जारी रहने समेत बताएको छ।
