इरानद्वारा ४५ दिने युद्धविराम प्रस्ताव अस्वीकार, अमेरिका–इजरायलसँग तनाव बढ्दो
तेहरानमा इरानले अमेरिका र इजरायलसँग जारी तनावबीच प्रस्तावित ४५ दिने युद्धविरामलाई अस्वीकार गरेको जनाएको छ, जसले क्षेत्रीय द्वन्द्व थप चर्किने संकेत दिएको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार युद्ध अन्त्यका लागि आएको अमेरिकी प्रस्तावप्रति इरानले पाकिस्तानमार्फत आफ्नो प्रतिक्रिया पठाउँदै युद्धविराम नमान्ने स्पष्ट पारेको हो। समाचार एजेन्सी आइआरएनएले उल्लेख गरेअनुसार इरानले दश बुँदे प्रतिक्रियामा तत्काल युद्धविरामभन्दा पनि द्वन्द्वको सुनिश्चित र दीर्घकालीन अन्त्य आवश्यक रहेकोमा जोड दिएको छ। यसअघि इरानले आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धबाट भएको क्षतिपूर्ति तथा भविष्यमा आक्रमण नहुने ग्यारेन्टी नभएसम्म युद्ध रोक्न नसकिने अडान लिएको थियो।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारसम्म हर्मुज जलडमरू’ स्वतन्त्र आवागमनका लागि नखोलिए इरानले गम्भीर सैन्य आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। उनले ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ४५ दिने युद्धविराम प्रस्तावलाई महत्वपूर्ण कदम भने पनि पर्याप्त नभएको टिप्पणी गरेका छन् र हाल मध्यस्थकर्तामार्फत वार्ता जारी रहेको जानकारी दिएका छन्। युद्ध तेह्रौँ दिनमा प्रवेश गरिरहँदा इरानको कडा अडान र अमेरिकी चेतावनीले मध्यपूर्वमा तनाव थप चुलिने र सम्भावित ठूलो द्वन्द्वतर्फ स्थिति उन्मुख हुन सक्ने चिन्ता बढाएको छ।
