रुपन्देहीमा लागुऔषध ओसारपसार नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवक घाइते भएका छन्। रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादवको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको छ र उनको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा यूपी५६एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोज्दा उनीहरू भाग्न प्रयास गरेका थिए। त्यसपछि प्रहरीले पछ्याउने क्रममा मोटरसाइकलबाट लडेका ती युवाहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गर्दै थप दुई राउन्ड गोली चलाइएको थियो, जसक्रममा यादव घाइते भएका हुन्।
घटनास्थलबाट प्रहरीले विशाल यादवसहित भारत महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ। उनीहरूको साथबाट फेनारगन, डाइजेपाम र ब्रुफिनका ११००–११०० एम्पुल बरामद गरिएको प्रहरीका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिएका छन्। पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
