२३ चैत, काठमाडौँ — साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा बढेर बन्द भएको छ। पछिल्ला दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा व्यवसायीहरू पक्राउ पर्न थालेपछि प्यानिक बनेको शेयर बजारमा सुधार देखिएको हो।
आइतबार १०० अंकभन्दा बढीले घटेको बजारलाई स्थिर बनाउन आज बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूले अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरेका थिए। भेटका क्रममा अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्र तथा पूँजी बजारप्रति सकारात्मक रहेको स्पष्ट पार्दै इन्साइडर ट्रेडिङ, म्यानिपुलेसनजस्ता अनैतिक गतिविधिमा संलग्न नभएसम्म डराउनुपर्ने अवस्था नरहेको बताएका थिए। यही सन्देशले लगानीकर्तामा विश्वास बढाएको विश्लेषण गरिएको छ।
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स १४.३० अंकले वृद्धि भएको छ भने फ्लोट इन्डेक्स ६.०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.०३ अंकले उकालो लागेको छ।
विश्लेषकहरूका अनुसार सरकारी आश्वासन र बजारप्रति सकारात्मक धारणा बनेसँगै लगानीकर्ताको मनोबल बढेको देखिएको छ, जसले आगामी दिनमा पनि बजारको स्थायित्वमा भूमिका खेल्ने अपेक्षा गरिएको छ।
