काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक तथा कर्मचारीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र कानुनअनुसारका सेवा–सुविधा नदिने रोजगारदाता तथा संस्थाहरूलाई कडा चेतावनी दिएको छ।
मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा विशेषगरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका प्रतिष्ठानहरूमा श्रम कानुन उल्लङ्घन भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा ‘इन्टर्न श्रमिक’का रूपमा कार्यरत स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक तथा अन्य क्षेत्रमा कार्यरत कर्मचारीहरूले तोकिएको न्यूनतम पारिश्रमिक नपाएको गुनासो बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।
मन्त्रालयले श्रम ऐन २०७४को दफा १८ उपदफा (३) स्मरण गराउँदै इन्टर्नका रूपमा काममा लगाइएका व्यक्तिहरूलाई पनि अनिवार्य रूपमा सेवा–सुविधा उपलब्ध गराउनुपर्ने स्पष्ट पारेको छ।
कानुनअनुसार तालिमी श्रमिकलाई समेत न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष, बीमा लगायतका सामाजिक सुरक्षाका सुविधा दिनुपर्ने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले श्रम कानुनको उल्लङ्घन गर्ने रोजगारदाता तथा संस्थाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनीसमेत दिएको छ।

