काठमाडौँ । नेकपा (एमाले) की सांसद विष्णुमाया विक ले राजनीतिक तथा सामाजिक निर्णयहरूमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गएको भन्दै त्यसको तत्काल नियमन गर्न सरकारसँग माग गरेकी छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले आजको अवस्थामा कसलाई नेता बनाउने, कसलाई प्रधानमन्त्री बनाउने वा कसलाई कुन पार्टीको अध्यक्ष बनाउने भन्ने विषयमा समेत सामाजिक सञ्जालको प्रभाव देखिन थालेको बताइन्। यस्तो प्रवृत्तिले लोकतान्त्रिक प्रक्रिया नै प्रभावित हुने खतरा रहेको उनको भनाइ थियो।
उनले सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले गलत धारणा र भीड मानसिकता सिर्जना गरिरहेको उल्लेख गर्दै यसको प्रभावकारी नियमन आवश्यक रहेकोमा जोड दिइन्। सभामुखमार्फत सरकारलाई आग्रह गर्दै उनले सामाजिक सञ्जाललाई तत्काल व्यवस्थित र नियन्त्रण गर्ने नीति ल्याउनुपर्ने बताइन्।
फरक प्रसङ्गमा उनले केपी शर्मा ओली र रमेश लेखक लाई तत्काल रिहा गर्न पनि माग गरिन्। उनीहरूलाई थुनामा राख्नुपर्ने स्पष्ट आधार नरहेको भन्दै थुनाबाहिर राखेरै अनुसन्धान अघि बढाउनुपर्ने उनको धारणा थियो।
त्यस्तै, एमाले समर्थक जेन–जी अमिसा पराजुलीमाथि भएको साइबर आक्रमण र हिंसाप्रति आपत्ति जनाउँदै उनले यस्ता घटनामा संलग्नमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन्।
