काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत (आठौँ तह) झलक शर्मा पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) को मुद्दा दायर गरेको छ।
आयोगले आइतबार काठमाडौँस्थित विशेष अदालतमा पौडेलसहित उनका परिवारका सदस्य र अन्य सहयोगीहरूविरुद्ध करोडौँ रुपैयाँ बिगो कायम गर्दै आरोपपत्र दायर गरेको हो। अनुसन्धानबाट खुलेको छ कि पौडेलले पदीय मर्यादा दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेका थिए र अवैध धनलाई वैध देखाउन विभिन्न व्यक्तिको नाममा ‘फेक’ ऋण सापटीको कारोबार देखाएका थिए।
अनुसन्धानका क्रममा पौडेल र उनकी श्रीमती हुमा कुमारी उपाध्यायको नाममा बैंक तथा सहकारी संस्थाहरूमा रहेको २ करोड ५१ लाख ३४ हजार ४६२ रुपैयाँ अवैध देखिएको छ। ब्याजसमेत जोड्दा कुल २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ बिगो कायम गरिएको छ। साथै पौडेलले विभिन्न व्यक्तिलाई झुट्टा ऋण फिर्ता गरेको कागजात तयार पारेर सम्पत्तिको वास्तविक स्रोत लुकाएको आयोगले ठहर गरेको छ।
मुख्य अभियुक्त पौडेलसँगै उनीलाई सहयोग गर्ने पत्नी हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोका क्षेत्री, हरि प्रसाद पौडेल र शान्ति दराई पौडेललाई मतियारको रूपमा प्रतिवादी बनाइएको छ। उनीहरूलाई मुख्य अभियुक्तको सम्पत्ति लुकाउन सहयोग गरेको आरोपमा कारबाहीको माग गरिएको छ।
अख्तियारले झलक शर्मा पौडेलसँग २ करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ बिगो, सोही बमोजिमको जरिवाना र कैद सजायको माग गरेको छ। पौडेलको खातामा रहेको १ करोड ७० लाख १३ हजार ५० रुपैयाँ जफत गर्न पनि माग गरिएको छ। मतियारको रूपमा रहेकी हुमा कुमारी उपाध्यायसँग २ करोड २३ लाख, जमुना कुमारी रोका क्षेत्रीसँग १ करोड ६३ लाख ६ हजार र हरि प्रसाद तथा शान्ति दराई पौडेलसँग १ करोड ३८ लाख रुपैयाँ बिगो कायम गरिएको छ।
आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, उनीहरूलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा कैद र जरिवाना गर्न माग गरिएको छ।
झलक शर्मा पौडेलविरुद्ध यसअघि असार २५ गते गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अर्को भ्रष्टाचार मुद्दा पनि दायर भइसकेको छ।
